काठमाण्डू, २६ माघ– बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलबाट दश दिनअघि बेपत्ता भएका तीन वर्षीय अंश चौधरीको शव शनिबार खोलामा भेटिएको छ ।
बारा र पर्साको सीमामा पर्ने किया सोती खोलामा तैरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । मामा घरमा बस्दै आएका रितेश चौधरीका छोरा अंश माघ १७ गते बिहान ९ः ३० बजे घरबाट निस्किएका थिए ।
विद्यालय जाने बालबालिकाहरूसँगै जितपुर बजारसम्म पुगेको सीसीटीभी फुटेजमा देखिए पनि त्यसपछि उनी बेपत्ता भएकी थिइन् । स्थानीयले खोलामा तैरिएको शव देखेपछि प्रहरीलाई खबर गरे ।
प्रहरी उपरीक्षक सन्तोष तमाडका अनुसार घटनास्थल पुगेर शवको पहिचान गर्दा बेपत्ता बालककै भएको पुष्टि भएको हो। बालकको मृत्यु खोलामा डुबेर भएको हो वा अन्य कुनै कारण रहेको छ भन्नेबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थप जानकारी दिने प्रहरीको भनाइ छ । अंशका आफन्तहरूले जितपुर बजारसम्म देखिएको बालक कसरी खोलासम्म पुग्यो भन्नेबारे गहिरो अनुसन्धान गर्न माग गरेका छन् ।