काठमाण्डू, २६ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको दाबी गरेका छन । आज शनिबार एकीकृत समाजवादीको काठमाण्डूमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमाथि यस्तो आरोप लगाएका हुन ।
उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको विरोध पनि गरेका छन । उनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पद चाहिएकाले दुई कम्युनिष्ट पार्टीहरू मिलेर बनएको सरकार ढालेर काँग्रेससँग मिलेर सरकार बनाएको पनि बताएका छन । अध्यक्ष नेपालले नेपालले प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको समेत खुलास गरेका छन । उनले प्रधानमन्त्री ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन ।
उनले भने, ‘प्रधानमन्त्री पद नै चाहिएको थियो भने प्रचण्डजीसँग कुरा गरेको भए त्यो पद पनि दिनुहुन्थ्यो की क्या हो बार्गेनिङ गरेको भए। नछोडेको भए हामीलाई पनि भनेको भए, फेरि एउटा प्रधानमन्त्रीको संख्या थप्नु छ भनेको भए बनाइदिनुस् भनेको भए मान्थ्यौँ होला। त्यही प्रधानमन्त्री बनेर दुनियाँ ठग्नको लागि संविधान संशोधन गर्नुछ भनेर गफै हाँक्ने हो भने त्यो गफको के काम ? नेपालले भने ।
प्रधानमन्त्री ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने कुरामा केन्द्रित भएको आरोप लगाए। उनले नेपालमा दुई वटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरू तयार रहेको बताए । संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिए।