कल बाइपास आरोपमा ४६० वटा सिमसहित एकजना पक्राउ

काठमाण्डु टुडे २०८१ माघ २५ गते १४:०८ मा प्रकाशित

काठमाण्डू, २५ माघ– प्रहरीले फोनकल बाइपास गरेको आरोपमा रुपन्देहीबाट एकजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपसारीको प्रतापपुर गाउँपालिका ८, नोडिहवाका २७ वर्षीय रोहित अहिर रहेको प्रहरीले जानकारी दिएको छ ।

रुपन्देही सिद्धार्थनगरस्थित गुलाबचन्द गुप्ताको घरमा कोठा भाडामा लिएर विभिन्न उपकरण जोडेर कल बाइपास गर्ने गरेको प्रहरीले आरोप उनीमाथि लगाएको छ ।

उनको साथबाट स्पोइलर कम्पनी हब ९ थान, इन्टेल कोर आई ५ कम्पनीको सीपीयू ४ थान, मोडेम १६७ थान, एन्टेनासहितको हब २ थान, नेपाल टेलिकमको सिम १९० थान, एनसेल सिम २७० थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै उनको साथबाट एउटा एलसीडी मोनिटर, एउटा ल्यापटप, ५ वटा मोबाइलसहित इन्टरनेटको राउटर, स्विच, नेटवर्क भिडियो रेकर्डर र हब केबललगायत सामग्री पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

पक्राउ परेका अहिरमाथि कल बाइपास कसूरमा रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us