काठमाण्डू, २५ माघ– काठमाण्डूको ठमेलमा ड्यूटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भएको छ । काठमाण्डूको ठमेलस्थित अमृतमार्गमा ड्यूटीमा खटिएका क्यूआरटी ‘क्वीक रेस्पोन्स टिम’ का रघु घर्ती र नगेन्द्र विष्टमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।
उनीहरू दरबारमार्ग वृत्तबाट खटिएका थिए। स्रोतका अनुसार उनीहरूमाथि कुटपिट गर्ने नेकपा (एमाले) निकट अनेरास्ववियू निकट विद्यार्थी नेताहरू कमल जोशी र दिनेश सिग्देलसहितलगायत हुन् ।मदिरा पिएर हो–हल्ला गर्दै हिँडेका उनीहरूलाई प्रहरीले सम्झाउन खोजेको तर, त्यसबेला उनीहरू नै जाइलागेको स्रोतको भनाइ छ ।
उनीहरूले प्रहरीले प्रयोग गरेको मोटरसाइकल र हेलमेटसमेत तोडफोड गरेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको पनि जिल्ला प्रहरी परिसर, काठमाण्डूका एसपी अपिलराज बोहराले जानकारी दिएका छन । उनीहरू अहिले फरार छन् ।