काठमाण्डू, २४ माघ– एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीविरुद्धको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधानमन्त्री पौडेलले प्रचण्डले हचुवाका भरमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाएको जिकिर गरे ।
आरोप पुष्टि गर्न चुनौती दिँदै उनले पुष्टि गर्न नसके जनतासामू माफी माग्न आग्रह समेत गरेका छन । एमाले उपाध्यक्ष पौडेलले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लक्षित गरेर उहाँ (प्रचण्ड) ले जेजस्ता अनुचित आरोप लगाउनुभएको छ, उहाँले पुष्टि गर्नुस्। यदि सक्नुहुन्न भने यही रोष्ट्रममा उभिएर नेपाली जनतासामू माफी माग्नुपर्छ ।’
पौडेलले भने, ‘म दाबीका साथ भन्छु उहाँले आरोप पुष्टि गर्न सक्नुहुन्न। ढिलो चाँडो यहाँ उभिएर क्षमा याचना गर्न बाध्य हुनुहुनेछ।’ उनले अहिलेको सरकारलाई प्रचण्डले विचौलिया, माफिया भनेको भन्दै संसदमा बोल्दा भ्रम छर्ने ढंगले नभइ तथ्यमा आधारित रहेर बोल्न समेत चेतावनी दिएका छन ।