रिहा भएपछि रविको प्रतिक्रियाः चितवन देवभूमि हो, यहाँबाट परिवर्तन जन्मिएरै छाड्छ

काठमाण्डु टुडे २०८१ माघ २४ गते १८:४४ मा प्रकाशित

काठमाण्डू, २४ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रिहा भएपछि चितवनबाट परिवर्तन जन्मिएरै छाड्ने प्रतिक्रिया दिएका छन् ।

आज बिहीबार चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन । लामिछानेले चितवनलाई देवभूमि भएकाले यही भूमिबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको पनि बताए । उनले भने, ‘हाम्रो चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो । देवताजस्ता मान्छे बस्ने ठाउँ हो यो ।

त्यसकारण यसले मलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा विश्वस्त छु,’ सभापति लामिछानेले भने, ‘अहिले कुम्भमेला चलेको छ भनिएको छ । हाम्रो देवघाटमा स्नान गर्नु भनेको कुम्भमेलामा सयौंपटक स्नान गर्नु बराबर हो भनेर सयौं मान्छेले भनेका छन् ।

त्यस्तो ठाउँ हो यो ठाउँ ।’ साथै, उनले अघिल्लो निर्वाचनबाटै चितवनले परिवर्तनको सुरुवात गरेको पनि बताएका छन । आज जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको एकल इजलासले उनलाई ५४ ला रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us