बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

काठमाण्डु टुडे २०८१ माघ २४ गते १८:३८ मा प्रकाशित

काठमाण्डू, २४ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन ।

लामिछानेमाथि साहारा सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।

न्यायाधीश दयाराम ढकालको इजलासमा बिहीबार थुनछेक बहस सकिएसँगै अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त मुद्दामा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए ।

जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ अधिवक्ताहरु गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us