काठमाण्डू, २४ माघ– आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोल्ने कार्यसूची पहिल्यै तय थियो । बुधबार त यसबारे औपचारिक निर्णय नै भयो ।
हिजो (बुधबार) सिंहदरबारस्थित कार्यव्यवस्था परामर्श समितिमा सबै दलका प्रमुख सचेतक उपस्थित थिए, जहाँ एमालेका प्रमुख सचेतक महेश बर्तौला पनि सहभागी रहेका थिए ।
प्रधानमन्त्रीले सिधै संसद्सँग व्यवहार गर्ने औपचारिक माध्यम कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमार्फत् हो । मन्त्री अजयकुमार चौरसिया स्वयं हिजो बुधबारको बैठकमा सहभागी रहेका थिए । यही बैठकले प्रचण्डले आज बिहीबार संसदमा बोल्ने औपचारिक तय गर्यो । अर्थात् कानुनमन्त्रीबाट प्रधानमन्त्रीलाई अब संसद्को आजको कार्यसूची औपचारिक रुपमै थाहा भयो ।
संसद्का नियमित गतिविधिमा चासो राख्नु, र नियमित बैठकमा सहभागी हुनु प्रधानमन्त्रीको कर्तव्य नै हो । संविधानले संसदप्रति जवाफदेही कार्यपालिकाप्रमुख कल्पना गरेको छ । सरकारले संसद् खुल्नुअघि जारी गरेका अध्यादेशहरू तत्काललाई अघि नबढाउने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश कानुनमन्त्री चौरसियाले सभामुख देवराज घिमिरेलाई आज (बिहीबार) बिहान भनेका थिए ।
यी सबै प्रक्रियामा प्रधानमन्त्री ओली जोडिएकै छन् । तर उनी संसद् आएनन् । प्रधानमन्त्री निकट स्रोतले दाबी गरे अनुसार विपक्षी दलका नेता प्रचण्ड बोल्ने जानकारी ओलीलाई थिएन । उनी बिहीबार सरकारी निवास बालुवाटारमै रहे । ‘उहाँ बोल्ने जानकारी वा खबर थिएन, त्यसैले प्रधानमन्त्रीज्यू नजानुभएको हो, अरु केही कारण होइन,’ बालुवाटार स्रोतले भन्यो ।’