काठमाण्डू, २४ माघ– पूर्व गृहमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले तत्कालीन नेकपाको एकता नटिक्नुमा नेताहरुको पदीय स्वार्थ कारण भएको बताएका छन । आज बिहिबार अछाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वगृहमन्त्री बादलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री हुने चाहना राखेकाले नेकपाको एकताबाट पछि हटेको बताएका छन ।
तर आफूले भने अहिलेको एमाले नेकपाकै निरन्तरता मानेर बसेको पनि बताएका छन । उपाध्यक्ष बादलले भने, ‘प्रचण्ड यो पाटीबाट हटे, फेरि माओवादी केन्द्रतिर फर्किए । माधव नेपालजी नेकपाबाट फुट्नुभयो र नेकपा एस बनाउनुभयो । वामेदवजी फुट्नुभो, र एकता अभियान बनाउनुभयो । उहाँहरुमा अस्थिरता देखा पर्यो, ममा त्यो लागू हुँदैन। वास्तवमा नेकपा एमाले भनेको नेकपा नै हो ।’ त्यसैले एमालेमा आएको भनेर आफूलाई नभन्न उनले आग्रह गरे ।
‘त्यसकारण एउटा निरन्तरतामा छु, फुटेर आएको होइन । प्रचण्ड फुटे किनकी प्रधानमन्त्री हुन चाहन्थे, अध्यक्ष हुन चाहन्थे नेकपाको एक्लौटी । माधव नेपाल प्रधानमन्त्री हुन चाहन्थे, मलाई प्रधानमन्त्री चाहिँयो वा पार्टी अध्यक्ष भन्ने थियो उहाँको माग’ बादलले भने, ‘उहाँहरुले लाइनमा, विचारमा फरक मत राख्नुभएको थिएन ।’