प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार

काठमाण्डु टुडे २०८१ माघ २४ गते १७:०७ मा प्रकाशित

काठमाण्डू, २४ माघ– सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घन्टापछि एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरीएको छ । प्रसूति व्यथा लागेको १८ घन्टापछि भोटखोला–४ नामासे की ३६ वर्षीया याङजम भोटेलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फूर्पु भोटेले जानकारी दिएकी छन ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो स्थान अझै यातायातको पहुँच पुगेको छैन । प्रसूति व्यथापछि बुधबार नामासे सामुदायिक स्वास्थ्य इकाईमा भर्ना हुनुभएकी भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फूर्पु भोटेले जानकारी दिइन् ।

प्रसूति व्यथा लागेको १८ घण्टापछि भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डूको थापाथली प्रसूति गृहमा पठाइएको उनले बताइन्। सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ ।

भौगोलिक विकटताका कारण यहाँ नजिक वर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको सुविधा छैन । यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार समस्या हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us