राष्ट्रिय सभामा पानी जहाज विधेयक पेस

काठमाण्डु टुडे २०८१ माघ २४ गते १६:५७ मा प्रकाशित

काठमाण्डू, २४ माघ– आज बसेको राष्ट्रिय सभाको बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पेस भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बिहीबारको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पेस गरेका हुन् ।

उनले सामुद्रिक कानुनीसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, १९८२ अनुसार समुद्रमा तटीय मुलुकको मात्र नभई भूपरिवेष्ठित मुलुककोसमेत समान अधिकार सुनिश्चित भए तापनि पानी जहाज दर्ता ऐन, २०२७ लागू भएपश्चात दर्जनौं अन्तर्राष्ट्रिय महासन्धि लागू भइसकेको पनि बताए ।

ती महासन्धिका प्रावधान उक्त ऐनले नसमेट्ने हुँदा नेपाली ध्वजाबाहक पानीजहाज दर्ता गर्न सकिने अवस्था नदेखिएको उनले बताएका छन ।

उनले समुद्रमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनका अतिरक्त कैयौं नेपाली विभिन्न मुलुकका पानीजहाजमा काम गर्दै आएको अवस्थामा ती नेपालीलाई नाविक किताब, नाविक परिचयपत्रलगायत ती कामदारको तालिम, स्वास्थ्य परीक्षण लगायतका विषय समेट्न आवश्यक देखिएको तथा नेपालभित्रकै विभिन्न नदी तथा तालमा विभिन्न क्षमताका जलयानहरू सञ्चालनमा आइरहेको अवस्थामा ती जलयानको दर्ता तथा नियमनको व्यवस्था गर्दै आन्तरिक जलयातायातलाई प्रवर्द्धन गर्न आवश्यक देखिएकाले विधेयक पेस गरिएको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us