महेश बस्नेतको आरोपः कुलमान घिसिङले बैठकमै गिलास प्रहार गरे

काठमाण्डु टुडे २०८१ माघ २४ गते ९:०८ मा प्रकाशित

काठमाण्डू, २४ माघ– एमाले नेता महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सहायक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका एक सदस्यमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले सञ्चालक समितिको बुधबारको बैठकमा आर्थिक पारर्शिताको विषयमा कुरा उठाएपछि घिसिङले गिलास प्रहार गरेको आरोप लगाएका छन् ।

कसमाथि घिसिङले गिलास प्रहार गरेका हुन् भन्नेबारे भने बस्नेतले केही खुलाएका छैनन् ।

‘कुलमान घिसिङ आफैले बोलाएको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आज बसेको सञ्चालक समितिमा बैठकमा आर्थिक विषयमा एजेन्डा बारेको छलफलकै क्रममा एक सञ्चालकले सबै विषय छलफलबाट मात्रै निवारण गर्नुपर्ने, भुक्तानीमा आर्थिक पारदर्शी हुनुपर्ने सोसल मिडियाको पपुलरिटीको आधारमा कुलमानबाट भएको आर्थिक अनियमितता भ्रष्टाचार र घोटाला रोक्नुपर्ने लगायत विषय उठाएका थिए’, बस्नेतले लेखेका छन्, ‘आफ्नो विरुद्ध गम्भीर आर्थिक घोटालाको कुरा उठेपछि एक्कासि कुलमान घिसिङले सूचना चुहाउने गरेको भन्दै उनीमाथि गिलासले प्रहार गरेका छन् ।’

यसअघिको बैठकमा सरकारले स्पष्टीकरण सोधेकाले विवादित भनेर कुलमानलाई बहुमत सञ्चालक समिति सदस्यहरूले बहिस्कार गरेको दाबी पनि उनले गरे । आफू अल्पमतमा परेपछि बहुमत पुर्याउन निमित्त अपर तामाकोशीको निर्देशकलाई बोर्ड सदस्य नियुक्त गरेर उनले बुधबार ५ः३० बजे ज्ञानेश्वरस्थित अपर तामाकोशीको कार्यालयमा बोर्ड बैठक डाकेको र त्यस क्रममा घिसिङ निक्कै आक्रोशित रुपमा प्रस्तुत भएको दाबी उनको छ । ‘घिसिङले आफूलाई असफल बनाउन लागेको भन्दै बैठकमा सबै विरूद्ध आक्रमक भएका थिए’, बस्नेतले लेखेका छन् ।

एमाले र कुलमान घिसिङबीच वर्षौंदेखि तिक्ततापूर्ण सम्बन्ध छ । तत्कालीन ऊर्जामन्त्री एमाले नेता राधा ज्ञवालीले कुलमानलाई चिलिमे जलविद्युत केन्द्रको प्रमुखबाट हटाएर जिम्मेवारीविहीन बनाएकी थिइन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा ऊर्जामन्त्री भएका बेला घिसिङ कार्यकारी निर्देशक भएका थिए । तत्कालीन नेकपा नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका माओवादी उपमहासचिव वर्षमान पुनले घिसिङलाई दोश्रो कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए ।

तर, प्रधानमन्त्री केपी ओलीले उक्त प्रस्ताव अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरे ।

काँग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार ठगन भएयता कुलमानलाई कार्यकारी निर्देशकबाट हटाउन धेरैपटक प्रयास भएको छ । पछिल्लोपटक ऊर्जामन्त्री दीपक खड्काले तपाईंलाई किन बर्खास्त नगर्ने भनी घिसिङलाई स्पष्टीकरण सोधेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us