रास्वपा जुम्लाका उपसभापतिसहित तीन जनाविरुद्ध ज्यान मुद्धा दर्ता

काठमाण्डु टुडे २०८१ माघ २३ गते १८:५९ मा प्रकाशित

काठमाण्डू, २३ माघ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूले बुधबार दोलखा तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी, हुम्ला अदानचुली गाउँपालिका–४ का ३२ वर्षीय महानन्द जैसी र झापा बुद्धशान्ति गाउँपालिका–४ की ५५ वर्षीया सीतादेवी राईविरुद्ध जिल्ला अदालत काठमाण्डूमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो ।

सिंहदरबार प्रहरी वृत्तले सरकारी वकिल समक्ष बुझाएको अनुसन्धान प्रतिवेदनमा जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको उपसभापति रहेको उल्लेख छ ।

रास्वपा सभापति रवि लामिछानेविरुद्ध काठमाण्डू जिल्ला अदालतमा बहस गरेर बाहिरिने क्रममा त्रिपाठीमाथि गत महिना केही व्यक्तिले जिल्ला अदालत परिसरमै कुटपिट गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us