नुवाकोटमा मोटरसाइकल जोगाउने खोज्दा भित्तामा ठोक्कियो बस, एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ २३ गते १७:०४ मा प्रकाशित

विदुर, २३ माघ– नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राई रहको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जानकारी दिएको छ ।

राईको बसको ठक्करबाट मृत्यु भएपछि मृतकका आफन्तले त्रिशुली–काठमाडौं सडकखण्ड अवरोध गरेका छन् । अहिले मृतकका आफन्तसँग वार्ता चलिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँले जानकारी दिएका छन । गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल बुधबार दिउँसो पौने २ बजे एक आपसमा ठोक्किएको थियो ।

विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बेलकोटगढी नगरपालिका–७ बस्ने मोतीराम राईका छोरा जीवनको उपचारका लागि अस्पताल पुर्‍याएपछि निधन भएको प्रहरीले जनाएको छ । मृतकका आफन्तहरूले अहिले घटनास्थलमा पुगेर बाटो अवरोध गरिरहेका छन् ।

मोटरसाइकल जोगाउने क्रममा बस भित्तामा पुगेर ढुंगामा जोतिन पुगेको थियो । बसमा सवार १८ जना र मोटरसाइकलमा सवार १ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us