सरकारी वकिलद्वारा रविविरुद्ध संगठित अपराधमा मुद्धा चलाउन अस्वीकार

काठमाण्डु टुडे २०८१ माघ २२ गते २०:२४ मा प्रकाशित

चितवन, २२ माघ– जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध संगठति अपराधमा मुद्धा चलाउन अस्वीकार गरेको छ ।

प्रहरीले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसुरमा लामिछानेसहित गोरखा मिडियाका अध्यक्ष जीबी राई तथा सञ्चालकहरू छविलाल जोशी र कुमार रम्तेलसहित ३२ व्यक्ति र ६ कम्पनीविरुद्ध मुद्धा चलाउन सिफारिस गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले भने रविबाहेक राई, जोशी र रम्तेलविरुद्ध मात्र संगठित अपराध कसुरमा मंगलबार चितवन जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।

जिल्ला न्यायाधिवक्ता शान्तिराज लुईंटेलले प्रतिवादी बनाइएका ६ कम्पनीमध्ये एकभन्दा बढीमा सञ्चालक रहेकालाई मात्र संगठित अपराधमा मुद्दा चलाउन मिल्ने बताए ।

उनले लामिछाने गोर्खा मिडियाबाहेकमा संलग्न रहेको नदेखिएकाले उनलाई मापदण्डअनुसार संगठित अपराधमा मुद्धा चलाउन नमिल्ने स्पष्ट गरे ।

‘संगठित अपराधमा मुद्धा चलाउन कसुरदार भनिएका व्यक्तिहरु दुई वा सोभन्दा बढी कम्पनीमा साझेदार हुनुपर्छ’, लुइँटेलले भने, ‘अरु तीन जनाको दुई वा सोभन्दा बढी कम्पनीमा साझेदारी देखियो । रविजी गोर्खा मिडियाबाहेक अन्यत्र कम्पनी सञ्चालक हुनुभएको पाइएन । त्यसैले उहाँविरुद्ध संगठित अपराधमा मुद्धा चलाउन मिलेन ।’

काठमाण्डू, कास्की र रुपन्देही अदालतमा भने लामिछानेविरुद्ध सहकारी ठगी, संगठिडत अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्धा दर्ता भएको छ ।

त्यसबारे सोधिएको प्रश्नमा लुइँटेललेअन्यत्रको विषयमा आफूले बोल्न नमिल्ने भन्दै चितवनमा भने त्यसो नगरिएको बताए ।

‘अन्त के भयो कसो भयो भन्ने कुरामा हामी प्रवेश गर्न मिलेन’, उनले भने, ‘दुईभन्दा बढी कम्पनीमा साझेदार भएकालाई मात्र संगठित अपराध कसुरमा मुद्धा दर्ता हुने भएकाले हामीले प्रहरी प्रतिवेदन सद गर्दा उहाँको नाम हटाएका छौं ।’

लुइँटेलका अनुसार जीबी, छवि र रम्तेलसहित दुई वा त्यसभन्दा बढी कम्पनीमा सञ्चालक रहेका १२ जनाविरुद्ध भने संगठित अपराधमा मुद्दा दर्ता भएको छ ।

प्रहरी प्रतिवेदनमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा १० करोड ८० लाख एक हजार १ सय ५१ रुपैयाँ गएको औंल्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us