केपी ओली र म सँगै जेल बसेका हौँः देउवा

काठमाण्डु टुडे २०८१ माघ २२ गते १६:१३ मा प्रकाशित

काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभागका प्रमुखहरूलाई आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।

साथै उनले एमाले अध्यक्ष ओलीको प्रशंसा गरेका छन । देउवाले भने, ‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दुख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,’ ‘झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो ।

हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन ।’ पहिलेदेखि नै दुई वटा पार्टीहरू प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको हुनाले विश्वासका साथ चल्नुपर्ने उनले सुनाए ।

सरकारमा कांग्रेस एमालेको गठबन्धन स्थायित्वका लागि भएको देउवाको दाबी छ । उनले भने, ‘दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरूबिच गठबन्धनबाट सरकार बनाउने कुरा कसरी आयो भन्ने पनि आवाज उठेका छन् ।

अहिलेको बेला मात्रै होइन, धेरै वर्षसम्म एमाले र कांग्रेसबिच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ,’ उनले भने, ‘कतिबेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन ।

दुई वटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ ।’उनले नेपाली कांग्रेस बिच एकता हुन सके आगामी निर्वाचनमा बहुमत नजिक पुग्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us