०६४ को माया पचाउन सकिएन, जनतामा फर्कने कसम खाएको छुः प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ २२ गते १५:३५ मा प्रकाशित

काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको स्वीकार गरेका छन ।

आज (मंगलबार) म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले अब जनतातिरै फर्कने कसम आफूले खाएको पनि उनले बताएका छन । उनले भने, ‘हामी माओवादीहरूलाई पहिलो चोटी जनताले अपार विश्वास गरेकै हो । कांग्रेस र एमाले त कता हो कता तल पारिदिएकै हो ।

हामीलाई तपाईंहरूले गरेको माया पनि पचेन । पचाउन सकिएन । हामीले भुइँ छाड्न थालियो ।’ साथै, उनले सम्पूर्ण तागत जनताकै भएकाले आफू कसम खाएरै जनताको दैलोमा फर्किएको पनि बताएका छन ।

उनले भने, ‘आखिर हाम्रो तागत जनताको तागत नै हो । हामी हिजो जंगलमा थिएनौं । जनताको काखमा थियौं । अहिले हामी काठमाडौंको जंगलमा भयौं । त्यहाँ पनि मजदुर र किसान छन् । ती समुदायसँग सम्बन्ध स्थापित गर्ने र जनतातिर फर्कने कसम खाएर म देशभर हिँडिरहेको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us