नेता, भू–माफिया र दलालहरूले जनताको पसिना चुसेः प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ २२ गते १५:२८ मा प्रकाशित

काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू दोस्रो र तेस्रोपटक प्रधानमन्त्री हुँदा गरिबी र भ्रष्टाचारमा मुछिएकाहरूबारे राम्रोसँग अनुभव गर्न पाएको बताएका छन ।

आज (मंगलबार) म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । सो क्रममा अध्यक्ष प्रचण्डले राजनीतिक दलका नेता, भूमाफिया र दलालहरूले देशको सुशासनविरुद्ध खेलिरहेको थाहा पाएको बताएका छन ।

अध्यक्ष प्रचण्डले भने, ‘मैले दोस्रो र तेस्रो पटक प्रधानमन्त्री हुँदा नेपाल र नेपाली जनतालाई गरिबी र भ्रष्टाचारमा राख्ने को हुन भन्ने बुझेँ, देखेँ, ‘यीनीहरूविरुद्ध एउटा नयाँ आन्दोलन मैले छेड्नैपर्छ । हजारौं नयाँ बेपत्ताहरूको सपना, समाजमा भएका विभेद र विकृतिविरुद्ध, सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मैले नलडे कसले लड्छ भन्ने लाग्यो ।’

त्यसपछि आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा नेपाल र नेपालीका लागि सकिनेजति गरेको बताएका छन । उनले भने, ‘नेपालको स्वतन्त्र परराष्ट्र नीति अन्तर्गत दुईवटा ठूला छिमेकीसँग राम्रो सम्बन्ध बनाएर नेपाल र नेपालीका लागि के गर्न सकिन्छ भनेर आफूले सकेजति गरेँ, ‘पहिलो पटक भारतको प्रधानमन्त्रीले आफ्नै मुखबाट सिमानाको समस्या संवादबाट हल गर्छौं भनेर पहिलोपटक भन्नुभयो ।

आफैंमा यो एउटा इतिहास हो ।’ उनले अघि भनेका छन्, ‘जति दिन सिंहदरबारमा रहन्छु, एउटा रेकर्ड बनाउने मेरो प्रयास हुनेछ भनेको थिएँ । त्यसको निम्ति सबैभन्दा ठूलो कुरा यो देशलाई सधैँ पछि पार्ने बिडम्बना भनेको, विकृति भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचारमा राजनीतिक दलका नेता पनि राम्रैसँग मुछिने गरेको, भूमाफिया र दलालहरूले त जनताको पसिना नराम्रोसँग चुस्ने गरेको रहेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us