पाँच दनिदेखि जलिरहेको छ मनाङ

काठमाण्डु टुडे २०८१ माघ २२ गते ८:२५ मा प्रकाशित

मनाङ,२२ माघ– मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।
चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । उनका अनुसार आगो निभाउने प्रयास जारी छ ।

‘आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौं । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन सकिएको छैन,’ आचार्यले भने, ‘भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।’
अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेको र बस्तीमा त्यति जोखिम नरहेको उनले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले पनि आगो नियन्त्रण लिन नसकिएको बताए । ‘संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, वनजंगलमा रहेका सुकेका ठुटाले गर्दा पनि आगो लागिरहेको छ ।’
सल्लाको काठ, पातपतिंगरले गर्दा आगो बढ्नसक्ने डर पनि रहेको प्रमुख भुजेलले बताए । ‘सुख्खायाम र हावाहुरी चल्ने मौसमले गर्दा पनि आगो बढ्नसक्छ,’ उनले भने । सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वनजंगलमा आगलागी भइरहेको भुजेलले जानकारी दिए । उनका अनुसार वनआलु, लौठसल्ला, जटामसी, पाँचऔंले, गुची च्याउलगायत जडीबुटीसमेत आगलागीले नष्ट हुने जोखिम बढेको छ ।

‘आगलागीका कारण चराचुरुंगी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्ने गर्दछ । चराचुरूंगी वन्यजन्तु तथा याकचौंरीका चरन क्षेत्र नाश हुने सम्भावना छ,’ कार्यालय प्रमुख भुजेलले भने । उनका अनुसार यस वर्षको मङ्सिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको छ ।

२०७७ मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजंगल नष्ट भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us