काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने दाबी गरेका छन । त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताएका छन ।
संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै कांग्रेसकै कतिपय नेताले निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन ।
तर, पोखरामा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन कार्यक्रममा देउवाले यहि प्रणालीमै बहुमत ल्याउन सकिने बताए । कांग्रेस सभापति देउवाले भने, ‘यो संविधानअनुसार बहुमत प्राप्त गर्न सहज छैन । तै पनि पार्टी एक भएर हिँडे, मतभेद बिर्सिएर हिँडे बहुमत ल्याउन सकिन्छ,’ पार्टीभित्र क्रियाशील विभिन्न समूहहरूतर्फ संकेत गर्दै सभापति देउवाले भने, ‘पार्टीका सबै नेताहरू लागेर पार्टीलाई त्यही दिशामा अगाडि बढाउन हार्दिक अनुरोध गर्दछु ।’
उनले आफ्ना मतभेदहरू बिर्सिएर पार्टीमा एकता स्थापित गर्न सबै नेताहरू लागे पार्टीलाई बहुमत दिलाउन सकिने दोहोर्याए । बिपी कोइराला, गणेशमानसिंह श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता नेताले सुम्पिएको जिम्मेवारी अहिलेको नेतृत्वको काधमा आएको भन्दै देउवाले त्यो जिम्मेवारी पूरा गर्नका लागि पनि पार्टीभित्र एकता जरुरी रहेको बताए ।