प्रधानमन्त्री ओलीको सुझावः मौरीको संगत गर्नुस्, झिंगाले फोहोरको डंगुरमा पुर्‍याउँछ

काठमाण्डु टुडे २०८१ माघ २१ गते १३:०२ मा प्रकाशित

काठमाण्डू, २२ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि गलत संगतमा नलाग्न युवाहरूलाई आग्रह गरेका छन ।

आज काठमाण्डूको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैं हेक्का राख्नुपर्ने जिकिर गरे । उनले भने, ‘गलत संगतमा कहिल्यै नजानुस् । गलत ठिक छैन भन्नेबित्तिकै छाडिदिनुस् । संगठन टिक गर्नुस् ।

मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ, ‘झिंगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डंगुरमा पुर्‍याउँछ । त्यसकारण फोहोरको डंगुरमा झिंगाको साथ लाएर जान हुँदैन । पहिले हामीले छुट्याउनुपर्छ, मह जम्मा गर्ने कि किटाणु जम्मा गर्ने भनेर ।’ प्रधानमन्त्री ओलीले जुनसुकै काम गर्दा पनि आफूले ठिक गरिरहेको छु वा छैन भन्नेकुरा ध्यान दिनुपर्ने बताए ।

काम सुरु गर्दा नै त्यसको परीक्षण गर्नुपर्ने बताउँदै यदी उक्त काम बेठिक छ भने तुरुन्तै छाडिदिन पनि प्रधानमन्त्री ओलीले युवाहरूलाई आग्रह गरे । ओलीले भने, ‘अहिले म पनि हरेक काम गर्दा ठिक काम त गरिरहेको छ कि छैन भनेर टेस्ट गरिराको हुन्छ ।

यदी ठिक छैन भने तुरुन्तै छाडिदिन्छु, ‘यो मैले ठिक काम गरिरहेको जस्तो लाग्दैन भने छाडिदिनुस् । ठिक छ भने निरन्तरता दिनुस् । अहिले मैले यो काम गर्न हुन्छ कि हुँदैन भनेर छुट्याउनुस् ।’ फरक प्रसंगमा प्रधानमन्त्री ओलीले जीवन अनन्त नबाँचिने उल्लेख गर्दै हरेक समयको मूल्यवान हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us