काठमाण्डू, २० माघ– नेपालको पछिल्लो ६ महिनामा कुल बस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । आज आइतबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई रु.९८ अर्ब ७९ करोड पुगेको जनाएको छ ।
बैंकले साउनदेखि पुससम्मको तथ्यांकमा आधारित रहेर सार्वजनिक ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको बताइएको छ । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको छ ।
यस्तै वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई रु.८२२ अर्ब ३७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३।१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा कच्चा भटमास तेल, चामलरधान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको रिपोर्टमा उल्लेख गरीएको छ ।