राष्ट्रिय सभा बैठक चलिरहँदा ढले कांग्रेस सांसद भट्ट

काठमाण्डु टुडे २०८१ माघ २० गते १५:०७ मा प्रकाशित

काठमाण्डू, २० माघ– आज आइतबार बसेको राष्ट्रिय सभा बैठक चलिरहँदा एक जना सांसद उक्त रक्तचापका कारण बैठकमै ढलेका छन् । राष्ट्रिय सभाको बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेको संघीय संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् । उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए । भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए ।

‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने ।

अहिले उनको संसद् भवनभित्रै उपचार भइरहेको छ । ‘राष्ट्रियसभाको स्वास्थ्य कक्षमा माननीयज्यूको उपचार भइरहेको छ,’ स्रोतले जानकारी दियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us