
काठमाण्डू, २० माघ– जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा सहकारीको बचत रकम हिनामिना प्रकरणमा पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोली आइतबार जिसस प्रमुख थापाको निवासमा पुगेर पक्राउ गरेको म्याग्दी प्रहरीले जनाएको छ ।
जिसस प्रमुख थापालगायतका व्यक्तिमाथि म्याग्दीको बेनी बजारमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाका आरोप छ । ०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोक्कासमेतले जिसस प्रमुख थापाविरुद्ध छानबिनको माग गर्दै गण्डकी प्रदेश सरकारको सहकारी रजिष्टारको कार्यालयमा लिखित निवेदन दिएका थिए ।
त्यपछि सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा थापाको योजनामा डेढ अर्ब बचत रकम हिनामिना भएको निष्कर्ष निकालेको थियो ।
थापासहितको समूहले सो सहकारीको बचत रकम निजी विद्यालय, घर जग्गालगायतका दुरुपयोग गरेको पाइएको प्रतिवेदनमा उल्लेख थियो। जिसस प्रमुख थापा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि हुन्।