काठमाण्डु,१३ पुस– सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । उनको हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौ २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थायी न्यायाधीशबाटै अवकाश भएका थिए । सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष मानवअधिकार आयोगको सदस्य बने ।
पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा नेतृत्वको आयोगमा उनी २ कात्तिक २०७१ देखि १ कात्तिक २०७७ सम्म सदस्यको रूपमा काम गरेका थिए । त्यसपछि अवकाशको जीवन बिताइरहेका उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न थिए ।
०६४ सालमा सर्वोच्च अदालत बार एशोसिएसनले गठन गरेको ‘न्यायपालिका जनआस्था अभिवृद्धि अध्ययन समिति’का सदस्य समेत रहेका उनी सहितको टोलीले त्यतिबेला अड्डाअदालतमा बिचौलियाहरु हावी रहेको भनी प्रतिवेदन दिएको थियो । सर्वोच्च अदालतले २०६६ सालमा गठन गरेको विकृतीविहीन न्यायपालिका विकास अध्ययन कार्यदलमा पनि उनी सदस्य थिए ।