काठमाण्डु, १२ पुस– एमाले महासचिव शंकर पोखरेलले आफ्नै कर्मका कारण एमालेका पूर्व उपाध्यक्ष समेत रहेका नेता डा.भीम रावल पार्टीबाट बाहिरिएको बताएका छन । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार नवलपुरको गैंडाकोटमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन ।
उनले पार्टीबाट बाहिरिसकेका रावललाई यसबारे पार्टीले जानकारी मात्रै दिएको बताएका छन । महासचिव पोखरेलले भने, ‘जसले एमाले सिध्याउन लागेका छन् उनीहरूलाई बडा चिन्ता लागेको छ, उनीहरूले बडा दुःख व्यक्त गरेका छन्, अनुशासनहीनता उद्देश्य प्राप्तिका लागि तगारो हुने गर्दछ ।’
सार्वजनिक टिप्पणी के भयो भन्ने भन्दा पनि पार्टीलाई अनुशासित बनाउनका लागि यो कदम चालिएको उनको भनाइ थियो । अधिकारको खोजी गर्ने तर आफ्नो कर्तव्य पूरा नगर्ने प्रवृत्ति बढ्दै गएको पोखरेलले बताए । अधिकार खोज्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्ने उनको तर्क थियो ।
हिजो के भयो भनेर होइन अब के गर्ने भनेर देश निर्माणको दिशामा अघि बढ्नु पर्ने उनले बताए । ‘हामी सफल पनि हुनुपर्दछ, हामी उदाहरणीय पनि हुनुपर्दछ,’ पोखरेलले भने । अन्य नेताहरू माथिको कारबाही भनेको पार्टीमा फेरि क्रियाशील हुने आधार हो भन्ने बुझ्नु पर्ने उनले बताए ।
पछिल्लो समय पार्टी र नेतृत्वमाथि चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको उनले बताए । काम गर्नेले नै गल्ती गर्ने बताउँदै पोखरेलले अहिले राम्रो काम गरेका कारण एमालेमाथि आक्रमण र घेराबन्दी गरिएको कुरालाई बुझ्न जरुरी रहेको उनको भनाइ छ ।