काठमाण्डु, १२ पुस– एमाले महासचिव शंकर पोखरेलले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपेको आरोप लगाएका छन ।
आज (शुक्रबार) चितवनमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन ।
महासचिव पोखरेलले अस्थिरतालाई प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबिच गठबन्धन गर्नुपरेको पनि बताएका छन । पोखरेलले ३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको बताएका छन ।
महासचिव पोखरेलले ठूला दलको गठबन्धन सरकारका लागि मात्रै नभइ मुलुकको स्थायित्व र विकासका लागि भएको जिकिर गरे । अहिले ठूला दल मिलेर सरकार बनाएपनि आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने उनले दाबी गरेका छन ।
त्यस्तै महासचिव पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासनभित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको पनि बताएका छन । पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गर्नुभएको पोखरेलले बताए ।
अन्य दुई जना नेताहरूलाई गरिएको निलम्बन भने सचेत मात्र भएको उनले बताएका छन ।निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै उनले पार्टी भित्रै प्रभावकारी भूमिका खेल्न र भविष्यका लागि अनुकूल वातावरण बनाउन सो कार्य गरिएको बताएका छन ।