काठमाण्डु, ११ पुस– नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यसत्तामा ढेडु बाँदरहरूको मारामार रहेको बताएका छन । आज बिहिबार सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताएका हुन ।
विप्लवले लंका जित्ने हनुमान भएपनि जस ढेडु बाँदरले लिन खोजेको र सत्ताका लागि उनीहरूबिच नै मारामार रहेको बताए । महासचिव चन्दले भने, ‘नेपालको राज्यसत्ता उदेक लाग्दो अवस्थामा छ ।
कहिले हाँस पनि उठ्छ । नेपालीमा एउटा उखान छ ‘लंका जित्ने हनुमान पगरी गुथ्ने ढेडु’ जस्तो भएको छ । राज्यसत्तामा ढेडुहरूको मारामार छन् । ढेडुहरूको ठुलो जमात खडा भएका छन् । कोही रिसाएका छन् ।
कोही हाँसिरहेका छन्’ । काठमाण्डुको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट जनयुद्धमाथि हमला गर्ने काम भइरहेकोमा उनले असन्तुष्टि समेत जनाएका छन । ‘जसलाई जनयुद्धको ‘ज’ पनि थाहा छैन उसले हमला गर्ने प्रयास भइराखेको छ’, विप्लवले भने, ‘हामीले समाजवादमा लैजान लडाइँ लडेका थियौँ तर आज भयंकर विपत्तिको सामना गर्नुपर्ने स्थिति छ ।’
अहिले कम्युनिस्ट आन्दोलनमा दुईवटा समस्या रहेको पनि विप्लवले औँल्याए । पहिलो वर्गीय मोर्चा छाडेर भाग्ने । अर्को विचार, सिद्धान्त बिग्रिन्छ भन्दै जड सूत्रीय प्रवृत्ति बन्द कोठाको कुनामा गएर सिद्धिने प्रवृत्तिले समस्या देखिएको उनको भनाइ छ ।