काठमाण्डु, ११ पुस– पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई नेकपा माओवादीमा ल्याउन आफू बाधक नभएको बताएका छन ।
आज (बिहिबार) सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा शर्माले यस्तो बताएका हुन । उनले विप्लव र आफूबिच फाटो ल्याउन विभिन्न भ्रम छरिएको पनि दाबी गरका छन । शर्माले पार्टीले ०६६ तिर विद्रोह र चुनावको दुई धारे नीति अवलम्बन गर्नु कमजोरी भएको बताएका छन ।
उपमहासचिव शर्माले भने, ‘०६६ सालतिर पार्टीले विद्रोह र चुनावको कार्यनीति अगाडि सार्नु कमजोरी थियो । त्यतिबेला विद्रोह बुझ्नेले विद्रोह बुझ्यो । चुनाव बुझ्नेले चुनाव बुझ्यो ।
विप्लवजीले विद्रोह बुझ्नुभयो र आफ्नो बाटो लाग्नुभयो, ‘हाम्रो बिचमा कालोबादल लगाउने विषयमा प्रयत्न गरिएको थियो । त्यो सही होइन । माओवादी पुनर्गठनको अभियान आफैँले थालेको हुँ ।
विप्लव र मेरोबिचमा राम्रो सम्बन्ध छ । विप्लव र माओवादी एकताबिच बाधकका रूपमा पनि चर्चा गरियो । ती सबै कुरालाई कपिलवस्तु र हरिसिद्धिमा पुगेर खारेज गरिसकेको छ ।’