काठमाण्डु, १० पुस– पूर्व मन्त्री एवं एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा संकट देखिँदा एमाले–नेपाली कांग्रेसबिच सहकार्य हुनु स्वाभाविक रहेको बताएका छन ।
आज (बुधबा) नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्न काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा पोखरेलले विभिन्न कालखण्डमा मुलुक समस्यामा पर्दा एमाले–कांग्रेसबिच सहकार्य भएको स्मरण गर्दै अहिले पनि मुलुकमा संकट देखिएकाले दुई दलबिच सहकार्य भएको बताएका हुन ।
मुलुकको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनुलाई अन्यथा लिन नहुने उनले बताएका छन । उनले एमाले–कांग्रेसबिचको सहमति सत्ताका लागि नभइ मुलुकको संकट समाधानका लागि भएको पनि बताए ।
पोखरेलले सञ्चार क्षेत्रले जबाफदेही भएर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा सुझाव पनि दिएका छन । उनले गलत सूचना प्रवाह गर्ने प्रवृत्तिलाई महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेर नियन्त्रण गर्नुपर्ने पनि बताएका छन ।