स्वदेशी पुँजीमै ठुला परियोजनामा लगानी गर्ने क्षमता बढेको भन्दै महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

काठमाण्डु टुडे २०८१ पुष ९ गते १८:१३ मा प्रकाशित

काठमाण्डु, ९ पुस– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन ।

आज मंगलबार तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिंदै १० अर्व पुँजीको लगानी कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह गरे ।

नेपालको पर्यटन, ऊर्जा,सूचना प्रविधि र कृर्षि उत्पादनका क्षेत्रमा अवसर नै अवसर भएकाले लगानीका लागि वित्तीय प्रबन्ध जुटाउन तथा साझेदारी गर्न नयाँ कम्पनी बनेकाले यसबाट फाइदा लिन पनि स्थानीय उद्योगीहरुलाई आग्रह गरेका हुन ।

महासंघको आग्रहमा नेपाल सरकारले लगानीमा अवरोध हुने ठानिएका कानुन सुधार गरिरहेकाले पनि लगानीका लागि उपयुक्त अवसर सृजना भइरहेको अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले पर्यटक आगमन बढिरहेको, रेमिटेन्स मार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको तथा बैकिग क्षेत्रमा पर्याप्त तरलता र ब्याजदर पनि सन्तुलित भइरहेकाले लगानीका लागि उपयुक्त समय आएको पनि बताए ।

भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन र स्थानीय उत्पादनको प्रर्वद्धनमा भइरहेका प्रयासमा साथ दिइरहेको बताउँदै अध्यक्ष ढकालले भानु नगरलाई शुभकामना समेत व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us