काठमाण्डु, ८ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजानिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।
आज (सोमबार) सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका हुन् ।
सहकारीमा परिवार जोडिएको र लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनु पर्ने भन्दै माओवादीले उनको राजीनामा माग गरेको हो । बैठकमा मोदीले भने,‘सभापतिज्यू माथि प्रश्न छ ।
सहकारीको विषय तपाईंको परिवारमा जोडिएको छ । प्रश्न उठेपछि यसको बारेमा तपाईंले जवाफ दिनुपर्छ ।’ सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ ।
यस्तै बैठकमा सांसद मोदीले लेखा समितिको बैठक धेरै समय पछि बसेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘चेक एण्ड ब्यालेन्सको कुरा गर्दा लेखा समितिले हेर्छ । तर, तपाईंको पार्टी सरकारमा छ । लेखा समिति सरकारको छाया बन्ने हो । सारमा यसको बारेमा पुनर बिचार गर्दा राम्रो ।’