काठमाण्डु, ८ पुस– पूर्वमन्त्री एवं एमाले सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको बचाउमा उत्रिएका छन् । आज सोमबार बसेको समितिको बैठकमा बोल्दै उनले परिवार सहकारीमा जोडियो भन्दैमा पोखरेलमाथि नै हमला गर्न नहुने बताए ।
सांसद बास्कोटाले भने, उहाँको परिवारको नाम आयो भने अपराधिनै सभापति हो भनेजस्तो सभापतिलाई हमला नगरौँ भन्ने मेरो सुझाव हो । आरोप लाग्दैमा राजीनामा किन ? तनावको कुरा भएन तथ्य र सत्यले पुष्टि गर्छ भने राजीनामा गर्नुपर्छ । प्रतिशोध र पूर्वाग्रह कानुनी राजको गुण हैन, कानुन अन्तिम सत्य हो । गोपी कृष्णको जसरी राजीनामाको रटान नलगाउन आग्रह गर्दै उनले आरोप नलागेको को छ भन्दै प्रश्न गरे ।
उनले भने, यहाँ सरकारमा नगएको को छ रु यहाँ आरोप नलागेको को छ ? आरोप लाग्यो भनेर सरकारमा नगएको को छ ? एमालेका सांसद समेत रहेका सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ ।