काठमाण्डु, ८ पुस– प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफू जुनसुकै परीक्षामा बस्न तयार रहेको बताएका छन । आज सोमबार बसेको समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफू कानुनमा विश्वास गर्ने बताएका छन ।
समितिको बैठकमा नेकपा माओवादीका सांसद अमनलाल मोदीले सभापति पोखरेलकी पत्नी अञ्जला कोइराला उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको भन्दै जवाफ दिनुपर्ने माग गरेका थिए । यस्तै एमाले सांसद योगेश भट्टराईले सभापतिमाथि विषय उठिसकेपछि त्यसको जवाफ दिनुपर्ने बताएका थिए ।
त्यसको जवाफमा सभापति पोखरेलले भने, मेरो विषयमा कुरा उठ्यो । कानुनी प्रक्रियामा छ । म जुनसुकै परीक्षामा बस्न तयार छु । म कानुनमा विश्वास गर्छु । बैठकमा एमाले सांसद गोकुल बास्कोटा र कांग्रेस सांसद राजेन्द्र केसी सभापति पोखरेलको बचाउ गरेका थिए ।