काठमाण्डु, ८ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको स्रोतले जानकारी दिएको छ ।
आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।
उनले भने, ‘आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको हो । १/२ दिन बयानमै जान्छ, त्यसपछि बल्ल थुनछेक बहस हुने हो ।’ थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् ।
त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ । सामान्यतयाः तीन वर्षभन्दा बढी कैद सजाय मागदावी भएका मुद्दामा आरोपितहरूका बारेमा भरपर्दो प्रमाण छ भने अदालतले थुनामा पठाउने अभ्यास छ । तर त्यसक्रममा आरोपको गम्भिरता, प्रमाणको सान्दर्भिकता एवं आरोपित थुनाबाट बाहिरिएमा उसले मुद्दामा पार्नसक्ने प्रभाव लगायतका आधारमा न्यायाधीशहरूले उपयुक्त आदेश गर्छन् ।
जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएसँगै रास्वपा सभापति लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरणको अभियोग गर्दा हुनासाथ सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ ।
सरकारी वकिलको कार्यालय, कास्कीले संघीय संसद सचिवालयलाई पत्र पठाएर उनको निलम्बनवारे औपचारिक जानकारी दिएको छ । जिल्ला अदालतमा मुद्दा नटुङ्गिदासम्म उनी निलम्बनमा हुनेछन् ।