काठमाण्डु, ७ पुस– सशस्त्र प्रहरको टालीले किराना पसलमा अवैध लागूऔषध बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्जको प्रगतिनगरका राजाराम महतो कोइरी रहेका छन ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको नं. १३ गण पर्सा, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
वीरगञ्ज–३ प्रगतीनगरमा उनले सञ्चालन गरेको सृष्टि किराना जेनरल स्टोरबाट लागूऔषध बरामद भएको थियो । पाँचवटा कार्टुनमा अवैध रुपले भण्डारण गरी राखिएको एक लाख ५१ हजार ८६० क्याप्सुल ट्रमाडोल हाइड्रोक्लोराइड नामक लागूऔषध बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।
स्टोर संचालक कोइरीलाई समेत वीरगंज भन्सार कार्यालय अगाडीबाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका कोइरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरीलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ ।