आज विश्व ध्यान दिवस, नेपालमा पनि मनाइँदै

काठमाण्डु टुडे २०८१ पुष ६ गते ७:२२ मा प्रकाशित

काठमाण्डु, ६ पुस– संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् ।

६ डिसेम्बर, २०२४ मा संयुक्त राष्ट्रसंघको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रूपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।

राष्ट्रसंघले ऐतिहासिक मान्यता दिई हरेक वर्ष २१ डिसेम्बरमा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् । नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ ।

यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा आज बिहानको रुद्राभिषेक पछि ८ बजेर ४५ मिनेटमा सामूहिक ध्यानको आयोजना हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिए ।

यसैगरी जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाउने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us