मिर्गौला दिन ठिक्क परेका बाबुबाटै बिरामी छोराको हत्या

काठमाण्डु टुडे २०८१ पुष ५ गते १८:२३ मा प्रकाशित

काठमाण्डु, ५ पुस– भक्तपुर नगरपालिका–२ शहिद खेल मैदान नजिकैको एक घरमा आफ्नै बाबुले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन । गत २ पुसमा ३१ वर्षीय नरेन्द्रबहादुर शाहीको आफ्नै बाबुले चक्कु प्रहार गरी हत्या गरेका हुन ।

राति सवा १० बजे अछामको कमलबजार नगरपालिका–६ हात्तिबाच घर भएका शाहीमाथि पेटमा चक्कु प्रहार भएपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारककै क्रममा उनको राति पौने ११ बजे मृत्यु भएको थियो ।

चक्कु प्रहारबाट मृत्यु भएको सूचना पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरको टोली अनुसन्धानमा खटिएको थियो । मृतक शाहीको शव पोष्टमार्टमका लागि काठमाण्डु मेडिकल कलेज दुवाकोट पठाएर अनुसन्धान गरेको प्रहरीले तत्कालै मृतक शाहीका बाबु दीपबहादुर शाहीलाई नियन्त्रणमा लियो ।

अनुसन्धानका क्रममा बाबु दीपबहादुर शाहीले नै हत्या गरेको खुलेको भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन । हत्याको कारणमा भने मिर्गौला प्रत्यारोपणको विवाद जोडिएको खुलेको एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन । उनले भने, ‘मिर्गौला प्रत्यारोपणको विवाद भएपछि छोराको हत्या गरेको खुलेको छ ।’

छोराको हत्या आरोपमा पक्राउ परेका दीपबहादुरमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us