काठमाण्डु, ५ पुस– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सर्वोच्च अदालतको आदेशसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्ने तयारी गरेको हो ।
प्रसाईंको मेडिकल जाँच गराएर छाड्ने तयारी रहेको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘सर्वोच्चको आदेशपछि मेडिकल जाँच गराएर हाजिरी जमानीमा छाड्न लागेका छौं ।
अब हिरासत बाहिरै राखेर अनुसन्धान गर्छौं ।’ प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।
व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । प्रसाईंका तर्फबाट निराजन प्रसाईंले दायर गरेको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चे उक्त आदेश दिएको हो ।