कुलमान घिसिङलाई प्राधिकरणबाट हटाएर मन्त्रालय तान्ने तयारी

काठमाण्डु टुडे २०८१ पुष ५ गते १३:३२ मा प्रकाशित

काठमाण्डु, ५ पुस– सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद बेठकले उनलाई कार्यकारी निर्देशकबाट हटाउने तयारी भएको ऊर्जा मन्त्रालय श्रोतले जनाएको छ ।

श्रोतका अनुसार उनलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा तान्ने तयारी छ । यसअघि शुक्रबारको मन्त्रिपरिषद बैठकले घिसिङलाई हटाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्री केपी ओली बालुवाटारमै आराम गरेर बसेका कारण बैठक स्थगन भएको थियो ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने विषयमा प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्कासँग घिसिङको खटपट हुँदै आएको छ । घिसिङले बक्यौता तिर्न बाँकी तीन दर्जन बढी उद्योगको लाइन काटेपछि सरकारले यसअघि नै हटाउन खोजेको थियो ।

नेपाललाई लोडसेडिङको अँध्यारोबाट मुक्त गराउन भूमिका खेलेका घिसिङलाई हटाउने तयारीवरुद्ध नागरिक स्तरमा चर्को विरोध भएपछि सरकार पछि हट्यो ।

प्रधानमन्त्री ओलीले सार्वजनिक लेखा समितिमार्फत गत भदौमै कुलमानलाई भ्रष्टचारमा कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने प्रयास पनि गरे ।

तर, माओवादी केन्द्र, रास्वपा, राप्रपा र सत्तारुढ काँग्रेसकै लेखा समितिमा रहेका सांसदहरुको चर्का विरोधका कारण समिति सभापति ऋषिकेश पोखरेलले निर्णय गराउन सकेनन् ।

त्यही बीचमा पोखरेल पत्नी अञ्जला कोइराला मोरङको उमागौर कृषि सहकारी ठगीमा संलग्न भएको विषय बाहिर आएपछि पोखरेलले त्यसयता समितिको बैठक नै बोलाएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us