गगनकै शैलीमा प्रधानमन्त्री ओलीले भनेः युवाले जागिर खोज्नु पर्दैन, ल्यापटपबाट ख्वार्र पैसा झार्न सकिन्छ

काठमाण्डु टुडे २०८१ पुष ४ गते १९:३७ मा प्रकाशित

काठमाण्डु, ४ पुस– प्रधानमन्त्री केपी ओलीले अबका विद्यार्थीका लागि कुनै जागिर नचाहिने दाबी गरेका छन् ।

हाँस्य कलाकार राजेन्द्र पोखरेल (राजा राजेन्द्र) लाई नेपाल टेलिभिजनबाट प्रसारण सुरु भएको ‘जनतासँगै प्रधानमन्त्री कार्यक्रम’ को पहिलो अंकका लागि दिएको अन्तर्वार्तामा ओलीले प्रविधिको विकासका कारण घरमै ल्यापटप लिएर पैसा झार्न सकिने बताएका हुन् ।

पढेपछि जागिर नपाइएला कि भन्ने चिन्ता नगर्न विद्यार्थीलाई आश्वासन दिए । सधैं विदेशमा रोजगारीको अवसर नहुने भएकाले स्वदेशमै विकल्प खोज्नुपर्ने बताए । स्वदेशमै घर बनाउने, कृषि कर्म गर्ने तथा वैज्ञानिक अनुसन्धान गरी रोजगारी सृजनातर्फ लाग्नुपर्ने ओलीको भनाइ थियो ।

कार्यक्रमको बीचमा कक्षा ८ मा अध्ययनरत एक विद्यार्थीले पढाइपछि रोजगारीको अवसरबारे राखेको जिज्ञाशाको जवाफमा ओलीले जागिरको चिन्ता नगर्न भने ।

‘अहिलेका विद्यार्थीले पढेपछि जागिर पाइएला नपाइएला भन्नेको समस्या नै रहँदैन । एक दशकमा ठूलो परिवर्तन हुन्छ । हाम्रो बुबाको पालमा मेरो पालमा भन्दा धेरै ढिलो परिवर्तन भएको थियो । मेरो पालामा खुईखुई गरेर उकालो चढ्नुपरेको थियो । त्यही दुःख सम्झिएर म सुरुङ बनाउँदैछु । अबको सरकारले रोजगारीको असवर, रोजगारीका लागि युवा विदेशिनुपर्ने जस्तो स्थिति राख्दैन । अर्को विदेशिने भन्ने कुरा सधैं एकनासको हुँदैन । कतार बनाउनु थियो, बनाइसकियो एक किसिमले । बनाइसकेपछि पनि हामीलाई जागिर खा त्यहाँ राख्छ कि के हो ? फेरि त्यहाँ घर बनाउँदै जान्छ कि के हो हमीलाई जागिर दिन ? हामीलाई जागिर दिन कसैले पनि घर बनाउँदैन’, ओलीले भने, ‘हामीले आफ्नो तयारी गर्नुपर्छ आफ्नै ठाउँमा घर बनाउने, आफ्नै ठाउँमा खेती लगाउने, आफ्नै ठाउँमा वैज्ञानिक आविष्कार गर्ने । बाबुलाई सुझाव दिन्छु कि जागिर पाइएला कि होइन । टेबलमा ल्यापटप राखेर ल्यापटपबाट पैसा झार्ने ख्वार्र । त्यहाँबाट पैसा झार्ने स्थिति बनाउनुर्छ । त्यो स्थिति आउँछ । जागिर चाहिंदैन, प्रविधिले आफैं ल्याउँछ ।’

गत १६ मंसिरमा सम्पन्न स्थानीय तहको उपनिर्वाचनका क्रममा र्कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस महामन्त्री गगनकुमार थापाले युवाहरुले कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर महिलामा ३/४ लाख कमाउन सक्ने अभिव्यक्ति दिएका थिए ।

थापाको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रोल बनेको थियो । ओलीले थापाभन्दा अगाडि बढेर ल्यापटपबाटै पैसा झर्ने दिन आउने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us