उमागौरी सहकारी ठगी प्रकरणः माओवादीले माग्यो ऋषिकेशको राजीनामा

काठमाण्डु टुडे २०८१ पुष ४ गते १८:५७ मा प्रकाशित

काठमाण्डु, ४ पुस– माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलले प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

माओवादी कोशी प्रदेशका संसदीय दल नेता इन्द्रबहादुर आङ्बोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी उक्त माग गरेका हुन् ।

आङबोले सभापति पोखरेल पत्नी अञ्जला कोइरालालाई सहकारी ठगीमा कारबाहीको दायराबाहिरै राखिएकामा आपत्ति जनाए ।

एमाले नेताको पत्नी भएकै कारण कोइरालाई संरक्षण गरिएको आरोप उनको थियो ।

‘शक्तिको चलखेलका कारण प्रहरीले सहकारी ठगीमा अञ्जला कोइरालालाई नियन्त्रणमा लिएको छैन’, आङ्बोले भने, ‘ऋषिकेश पोखरेलले लेखा समिति सभातिबाट राजीनामा दिएर पत्नीलाई अनुसन्धानको दायरामा ल्याउने बाटो खोल्नुपर्छ ।’

कोइराला मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी छन् । अदालतले उनलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरे पनि हाल उनी फरार छिन् ।

सभापति पोखरेलले यसअघि आफ्नी पत्नीले एक पैसा पनि हिनामिना नगरेको दाबी गर्दै आएकामा अदालतले पक्राउ पुर्जी जारी गरेकाले नैतिकताका आधारमा उनले सभापतिबाट राजीनामा दिनुपर्ने तर्क आङ्बोले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us