रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाण्डु टुडे २०८१ पुष ४ गते १८:०९ मा प्रकाशित

काठमाण्डु, ४ पुस– गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा पक्राउ परेर हाल कास्की प्रहरीको हिरासतमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक भएको थियो । मन्त्री लेखकले उक्त तस्बिरको विषयमा छानबिन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी स्रोतले जानकारी दिएको छ ।

गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई दिएको निर्देशन उद्धित गर्र्दै गृहमन्त्रालय स्रोतले भन्यो, ‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।’

त्यसैगरी प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए । उक्त तस्बिर आफूले खिचेको रास्वपाकै समर्थक डा. निकोलस भुसालले स्वीकार गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us