निर्मला पन्त हत्या प्रकरणमा सीआईबीले थाल्यो अनुसन्धान अधिकृतसँग छलफल

काठमाण्डु टुडे २०८१ पुष ३ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, ३ पुस– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६ वर्ष अधि भएको कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूसँग छलफल सुरु गरिएको छ ।

अनुसन्धानमा खटिएका अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट फेरि अनुसन्धान अघि बढाउन लागिएको सीआईबी स्रोतले जानकारी दिएको छ । ‘यो अनुसन्धान निरन्तर जारी नै छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट अनुसन्धान गर्न लागेका छौं,’ सीआईबी स्रोतले भन्यो । हिजो मंगलबार मात्रै केही प्रहरी अधिकारीलाई सीआईबीको लाजिम्पाटस्थित कार्यालयमा बोलाएर छलफल गरिएको थियो ।

छलफल सकेर एउटा निचोड निकालेपछि अनुसन्धानका लागि नयाँ टोली पठाइने सीआईबीले स्रोतले जानकारी दिएको छ । गत साउन १० गते मात्रै पन्तको बलात्कार–हत्या भएको ६ वर्ष पूरा भएको छ ।

तर अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरीले सकेको छैन । कञ्चनपुरकै नेता रमेश लेखक अहिले गृहमन्त्री रहेका छन । यसअघि उनले समेत पन्तको बलात्कार र हत्यारालाई सरकारले पत्ता लगाउन नसकेको भन्दै आलोचना गरेका थिए ।

तर अहिले अनुसन्धान गर्ने जिम्मेवारी निकायमै उनै लेखक पुगेका छन् । तर हत्यारा अहिलेसम्म पहिचान हुन सकेको छैन । ६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us