बालेनलाई ओलीको सटायरः ललितपुर महानगरले गरिबको टमाटर सडकमा फालेको देखेको छैन

काठमाण्डु टुडे २०८१ पुष २ गते २०:३८ मा प्रकाशित

ललितपुुर, २ पुस- प्रधानमन्त्री केपी ओलीले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रति सटायर गर्दै ललितपुर महानरले गरिबका टमाटर सडकमा फालेको देख्नु नपरेको बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधिले जनताको हाकिम हुँ भन्ने प्रवृत्ति देखाउन नहुने बताए । जनप्रतिनिधि र कर्मचारी जनताको सेवक हुनुपर्ने उनको भनाइ थियो ।

कर्मचारी र जनप्रतिनिधिको मस्तिष्कमा घमण्ड पसेपछि राम्रो चिज केही पनि पस्न नपाउने उनको भनाइ थियो ।

‘ललितपुर नगरी प्रहरीले गुरुरु जिपमा कुदेर अर्कै लोकको केही आएझैं कुदेर आयो, झ्याप्प गाडी रोकेर गन्द्र्याङगन्द्र्याङ फाल हानेर पिरपिर सिट्ठी बजाउँदै आतंक छाउँदै यता फाल्दै उता फाल्दै ठेला फाल्दै अर्को चिज गर्दै गरिबका तरकारी टमाटर फाल्दै त्यस्तो गरेको मैले देखेको छैन’. ओलीले भने, ‘म ललितपुर नगर प्रहरीलाई धन्यवाद दिन चाहन्छु । तपाईंहरू आतंकको पर्याय होइन । तपाईंहरूबाट जनताले सुरक्षित महसुस गर्नुपर्दछ । तपाईंहरूलाई देख्दा जनताले हाम्रा रक्षकहरू आए भन्ने ठान्नुपर्दछ । लौ आयो कता भागौँ भन्ने स्थिति हुनुहुन्न ।’
ओलीले सरकार अभिभावकजस्तो भएर प्रस्तुत अुनुपर्ने बताए ।

सरकारले सक्नेले खाउ नसक्ने मर भन्ने नभई नसक्नेका लागि सरकार छ भन्ने अनुभूति वर्तमान सरकारले दिएको जिकिर ओलीले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us