काठमाण्डु, २ पुस– खानेपानीमन्त्री प्रदीप यादवले काठमाण्डु उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार लागि परेको बताएका छन ।
आज मंगलबार काठमाण्डु उपत्यका खानेपानी लिमिटेडको अनुगमका क्रममा बोल्दै खानेपानीमन्त्री यादवले यस्तो बताएका हुन । उनले उपत्यकाको खानेपानीको समस्या समाधानका दीर्घकालीन योजना बनाएर सरकार अगाडि बढिरहेको बताएका छन ।
उनले मेलम्चीको पानी वर्षमा आठ महिना मात्र काठमाण्डु आउने भएका कारण समस्या भइरहेको उल्लेख गर्दै त्यसको समाधान खोजिरहेको बताएका छन । काठमाण्डु उपत्यकामा २४ सै घण्टा पानी उपलब्ध गराउनको लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको र त्यसको लागि टेन्डर आह्वान भइसकेको समेत उनले बताए ।
उनले भने, ‘अहिले हामीले मेलम्चीको पानी वर्षमा ८ महिना मात्र वितरण गरिरहेका छौँ । वर्षामा चार महिना वितरण नहुँदा समस्या छ । त्यसका लागि हामीले १२ महिनाको २४ सै घण्टा पानी दिनको लागि हामीले सुन्दरीजलमा नयाँ टेण्डर प्लान थपिरहेका छौँ ।
त्यसको क्षमता २५ करोड ५० लाख लिटर क्षमता छ । त्यो निर्माण भइसकेपछि काठमाडौँवासीको सपना पूरा हुन्छ, उपत्यकाको पानीको समस्या समाधान हुन्छ ।’