काठमाण्डु, २ पुस– गृहमन्त्री रमेश लेखकले सिमानामा हुने तस्करी रोक्न निर्देशन दिएका छन । रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन ।
उनले भने, ‘लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको छ, सिमानामा हुने तस्करी तुरुन्त रोक्न म निर्देश गर्छु ।’ सीमापार अपराधको नियन्त्रण नियन्त्रण देखिने गरी हुनुपर्ने पनि उनले बताएका छन ।
लेखकले भने, ‘लागू औषधको नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्यूनीकरण गर्नु होला ।’ गृहमन्त्री लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको पनि बताएका छन ।
सरकार बन्ने बित्तिकै सरकार ढल्छ भन्ने र मन्त्री बन्ने बित्तिकै मन्त्री हट्छन् भन्ने हल्ला चलाइने गरेको उल्लेख गर्दै मन्त्री लेखकले अहिलेको गठबन्धन २०८४ सम्म नै जाने जिकिर गरेका छन् ।
गोष्ठीमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहितका पदाधिकारी सहभागी थिए ।
त्यस्तै, लुम्बिनी प्रदेश मातहतका जिल्लामा कार्यरत जिल्ला सुरक्षा समितिमा पदाधिकारीहरू गोष्ठीमा सहभागी भएका छन् ।