काठमाण्डु, २ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकाले सोमबारबाट सञ्चालनमा ल्याएको ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’ को प्रशंसा गरेका छन् ।
आज (मंगलबार) ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सोमबारबाट उक्त लाइटको सरुवात गरेका थिए । इन्टिलिजेन्स प्रणालीमा आधारित यी लाइटले जतापट्टि धेरै सवारीसाधन संख्या हुन्छ, त्यतैतिर हरियो बत्ती बल्छ ।
उक्त प्रविधिबारे प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘दुई चार वर्षअघि सम्म यो शब्दै पनि सुन्न नसकिने कुरा हो, इन्टिलिजेन्ट ट्राफक लाइट । शब्दै सुन्न नपाइने कुरा, ट्राफिक लाइट यसो रातो, पहेँलो बाल्न त गाह्रो थियो भने, यहाँ त इन्टिलिजेन्ट ट्राफिक लाइट भयो ।’ उनले कल्पनै गर्नै नसक्ने कार्य ललितपुर महानगरले गरेको भन्दै देश जहाँको त्यही नभएको पनि बताएका छन ।
प्रधानमन्त्री ओलीले भने, ‘यो त कल्पनै गर्न गाह्रो थियो । ललितपुर महानगरले हिजो सुरु गरिसकयो । अर्थात् हामी अगाडि बढिसक्यौं । अवस्था जहाँको त्यहीँ छैन,’ उनले भने ।
कार्यालय समयमा काठमाण्डु तर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्ने ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताएका छन ।