सभामुख भएपछि पत्रकारिताप्रतिको धारणा बदलियो: सभामुख घिमिरे

काठमाण्डु टुडे २०८१ पुष १ गते १४:३४ मा प्रकाशित

काठमाण्डु, १ पुस– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुख भएपछि पत्रकारलाई हेर्ने आफ्नो धारणा बदलिएको बताएका छन । आज सोमबार काठमाण्डुमा ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’ नामक पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन । सभामुख घिमिरेले भने, ‘जतिबेला म यो जिम्मेवारीमा आएँ ।

आएदेखि मैले संसदीय पत्रकारितालाई हेरिराखेको छु । यो हेर्दा पत्रकारका बारेमा आम रुपमा बाहिर जुन रुपमा टिकाटिप्पणीहरू, विश्लेषणहरू अथवा समाचार सम्प्रेषणका तरिकाहरूबाट मेरो जे धारणा बनेको थियो त्यस्तो होइन रहेछ भन्ने मैले महसुस गरेको छु ।’

पत्रकारले धेरै जिम्मेवारीका साथ विषयको विशिष्टिकृत अवस्थालाई समेत ख्याल गरेर समाचार सम्पेष्ण हुने गरेको आफूले महसुस गरेको पनि उनले बताए । उनले भने, ‘धेरै जिम्मेवारीका साथ, विषयको विशिष्टिकृत अवस्थालाई बुझेर इमानदारिताका साथ, जवाफदेहिताका साथ धेरै मेहनत गरेर समाचार सम्प्रेषण गर्ने गरेको देख्छु ।

यो देख्दा मेरो हिजोको पत्रकारितासम्बन्धी बनेको धारणा भन्दा अलि फरक स्थितिमा मैले आफूलाई पाएको छु ।’जेनरल पत्रकारिता भन्दा संसदीय पत्रकारिता विशिष्ठ काम भएको पनि उनले बताए । यो संसदीय व्यवस्था भएका अन्य मुलुकमा र नेपालमा पनि महसुस गर्न सकिने सभामुख घिमिरेको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us