०८४ को निर्वाचनमा ०६४ साल फर्काउने गरी जनमत बढाउँदै गएका छौँ: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर २९ गते १८:२५ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जहाँ पुग्यो त्यहाँ जिन्दावादको नारा लाग्ने गरेको बताएका छन ।

आज (शनिबार) रुपन्देहीको तिलोत्तमामा आयोजित नेकपा माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्डले भने, ‘पछिल्लो समय म जहाँ गएँ, त्यहीँ पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन ।’

जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको पनि उनले दाबी गरे । अध्यक्ष प्रचण्डले भने, ‘जनताले मनमनै फैसला गरिसकेको छ । जनतालाई माया गर्ने पार्टी माओवादीले हो, परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ ।’

माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढंगले बुझ्दै गएको उनको दाबी छ । आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्दै दुरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उनले बताएका छन ।

प्रचण्डले भने, ‘भ्रष्टाचारी विरुद्धको कारबाही अगाडि बढाउदा म प्रचण्ड नै अगाडि देखिएँ त्यसलाई पनि नछोड्न भनेर सुशासनको अभियान चालियो,’ ‘मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न ऐन ल्याएर नै समाधान गर्न मिहिनेत गरियो । त्यसैगरी विदेशमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने काम गरियो ।

अर्थतन्त्रको सुधारका लागि पहल सरकारबाट लिइयो ।’यसैको प्रभाव स्थानीय तह निर्वाचनको नतिजामा पनि देखिएको भन्दै उनले भने, ‘भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्धिदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ । को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घृणा देखिएको भन्ने संकेत देखिएको छ ।’

सरकार छाड्ने बेला केही मिडियाले माओवादी अब सिद्धिने भयो भनेर नियोजित दुष्प्रचार गरेको उल्लेख गर्दै प्रचण्डले माओवादी २०८४ को चुनावमा २०६४ साल फर्काउने गरी जनमत बढाउँदै गएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us